नेपाल–चीन जोड्ने तातोपानी नाका पुनः बन्द

साउन १ काठमाडौं ।

नेपाल–चीन जोड्ने तातोपानी नाका पुनः बन्द भएको छ ।

नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका सञ्चालनमा आएको एक दिन नबित्दै पुनः बन्द भएको हो ।

बिहीबार रातभर परेको अविरल वर्षापछि इको क्षेत्रमा माथि बाट बग्ने खोल्साको भेलले सडक बगाए पछि सीमा नाकाको आवतजावत पूर्ण रूपमा रोकिएको जनाएको छ ।

स्थानीय प्रशासनको अनुसार वर्षा पछि खोल्साको पानी सडकमै पसेर इको क्षेत्रमा सडक पुनः भासिए पछि नाका फेरि बन्द हुन पुगेको जनाएको छ ।

पछिल्ला दुई दिनदेखि परेको वर्षाले लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै वर्षेनी जोखिम मानिने इको क्षेत्रमा सडक भासिने समस्या दोहोरिएको छ । उक्त क्षेत्रमा सडक भासिएर भोटेकोशी नदीतर्फ झर्ने समस्या हरेक वर्ष दोहोरिने गरेको छ ।

सडक डिभिजन कार्यालय चरिकोटका फिल्ड इन्जिनियर सुरेन्द्र सिंहका अनुसार इको क्षेत्रमा माथि बाट झर्ने खोल्साको पानी र तलबाट बग्ने भोटेकोशी नदीको कटानका कारण पानी पर्नासाथ सडकमा समस्या देखिने गरेको बताएका छन् ।

इको पहिरो नियन्त्रणका लागि चीन सरकारको सहयोगमा दीर्घकालीन योजना अघि बढाइएको भए पनि चालु मनसुनभर निर्माण कार्य सुरु नहुने निश्चित भएको छ ।

नेपाल र चीन सरकार बीच दुई चरणको सम्झौता सम्पन्न भइसकेको र अब कार्यान्वयन सम्झौता मात्र बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । बर्खा सकिएलगत्तै चिनियाँ निर्माण कम्पनी तातोपानी आएर पहिरो नियन्त्रणको काम सुरु गर्ने तयारी छ ।

हाल खासामा नेपाली व्यापारीले ल्याएका लसुन, ओखर, फलफूल, रेडिमेड सामग्री तथा विभिन्न जलविद्युत् आयोजनाका उपकरण बोकेका कन्टेनर रोकिएका छन् । सडक बन्द हुँदा ट्रान्सपोर्ट व्यवसायीलाई अतिरिक्त लागत व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको जनाएका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *