वैशाख ११ काठमाडौँ।
आज देशभर २० औं लोकतन्त्र दिवस मनाइँदै छ।
जनआन्दोलन २०६२, ०६३ को सफलता प्राप्त र लोकतन्त्रको सम्झनामा स्वरुप आज देशभर २० औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरूको मार्गचित्र बमोजिम विघटित संसद् पुनस्र्थापना गरेको ऐतिहासिक दिनको स्मरणमा विसं २०६४ देखि लोकतन्त्र दिवस मनाउन थालिएको हो।
नेपालको राजनीतिक इतिहासमा विसं २०५९ जेठ ८ गते संसद् विघटन भए पछि सुरु भएको अस्थिरता र राजाको प्रत्यक्ष शासनको शृङ्खला वैशाख ११ को घोषणासँगै अन्त्य भएको थियो।
राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै हटाउँदै गरेपछि २०६१ माघ १९ गते शासन सत्ता पूर्णतः आफ्नै हातमा लिएका थिए।
राजाको उक्त कदमपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी) बिच २०६२ मङ्सिरमा भएको १२ बुँदे समझदारीले आन्दोलनलाई निर्णायक मोड दिएको थियो।
वैशाख ११ गते राति राजाले संसद् पुनस्र्थापनाको घोषणा गर्दै बैठक आह्वान गरे सँगै जनताको जित भएको थियो। भने यही दिनलाई नै नेपालमा गणतन्त्रको बलियो जगका रूपमा लिइएको छ।