चैत ४ काठमाडौं।
बेनी नगरपालिकाको रत्नेचौर बुढो पोखरी पर्यटकको आकर्षण बन्दै गएको छ।
बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको बूढो पोखरीतर्फ पर्यटकको आकर्षण बढ्दै गएको हो।
विसं १८६६ मा निर्माण भएको बुढो पोखरी पुनः निर्माण तथा सरसफाइ गरेर चिटिक्क बनाएपछि रत्नेचौर आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको जनाएको छ।
कृषि, धार्मिक र पर्यापर्यटनको त्रिधाम भनेर चिनिने रत्नेचौरमा बेनी–बागलुङ सडक खण्डको पश्चिम उत्तर खण्डमा अवस्थित बूढो पोखरी धौलागिरि क्षेत्रकै ठुलो मानवनिर्मित पोखरी हो।
यस पोखरीमा संसारकै सातौँ अग्लो (८ हजार, १६७ मिटर) धौलागिरि हिमालको प्रतिविम्ब देखिनुका साथै जलहाँसको सुन्दर क्रिडा देख्न सकिने जनाएको छ।
स्थानीय भानु माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं रत्नेचौरको विकास र प्रचारप्रसारका लागि परेका युवा भरत खत्रीका अनुसार ऐतिहासिक बूढो पोखरीले रत्नेचौरको सौन्दर्यलाई उजागर गर्नुका साथै पर्यटकको ध्यान खिच्न सफल भएको बताएका छन्।
उत्तरतर्फ चाँदी झैँ टल्किने हिमाल, समथर फाँटमा झुलिरहने बाली, चिटिक्कको गाउँ, खेतको फाँटको बिचमा लमतन्न परेको पक्की सडक, पारीपट्टी देखिने शालग्राम सङ्ग्रहालय र पञ्चकोट धाम, कालीगण्डकी नदी, म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका दर्जनौँ गाउँको दृश्यावलोकन यहाँ बाट गर्न सकिने भएकाले पछिल्लो समय पर्यटकहरूको आकर्षण बढेको जनाएका छन।
वि.सं १८६६ मा राजा गीर्वाणयुद्धका मिरसुब्बा रहेका रत्नेचौरका वसन्त बोगटीले राजाको इच्छा मुताबिक यो पोखरी निर्माण गर्न लगाएको इतिहास रहेको छ।