माघ २८ काठमाडौं ।
आज राष्ट्रिय सभा बैठक बाट चलचित्र विधेयक पारित गरेको छ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा चलचित्र विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले प्रस्तुत गरेकी थिइन्।
प्रस्तुत भएको विधेयकलाई सभाले सर्वसम्मतिमा पारित गरेको हो। यो विधेयक तत्कालीन माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ल्याएका थिए।
२०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक माथि २०८२ साल जेठ ६ गते सभामा प्रस्तुत भएको थियो।
विधायन समितिले पारित गरेर सभामा पेस गरेसँगै विधेयक आज सभा बाट पारित भएको हो।
चलचित्र विधेयक ऐनमा रुपान्तरित भएपछि चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्न थप सहज हुने सरकारको विश्वास छ।
चलचित्र मार्फत देशलाई पर्यटन गन्तव्यको रुपमा अगाडि बढाउन, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शन गर्नु अघि चलचित्र जाँच गर्ने व्यवस्था गर्न तथा स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवर्धन र नियमन गर्नु विधेयकको उदेश्य रहेको जनाएको छ।