पुस १३ काठमाडौं।
महोत्तरीका किसान उखु काट्ने चटारोमा रहेका छन्।
चैतेबाली लगाउने बेला घर्कँदै गर्दा किसानलाई उखु काटेर चिनी उद्योगमा पुर्याउन धौं–धौं परेको हो।
पहिलो उखु काटेर चिनी उद्योगमा पु¥याउन र पेलेर सख्खर बनाउन किसानलाई धपेडी परेको हो।
पुस तेस्रो साताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यही कामको चापमा रहेको भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले बताएका छन्।
महोत्तरी लगाएत तराईको अधिकांस ठाउँमा एक पटक लगाइएको उखु खेती बाट दुई वर्ष बाली लिइन्छ । पहिलो वर्षको बालीलाई ‘मुडन’ र दोस्रो वर्षकोलाई ‘खुट्टी’ भनिन्छ।
हाल दोस्रो वर्षको बाली खुट्टी उखु भएको जग्गामा तत्काल चैते (चैती) बाली लगाउनु पर्ने भएकाले किसानलाई चटारो भएको छ।
जिल्लाको उत्तरी क्षेत्रको जग्गा चाँडै रुखो हुने हुँदा पुस महिना भित्रै बाली लगाउन नपाए ६ महिना बाँझो पर्ने चिन्ताले किसान दिनरात नभनी उखु व्यवस्थापनमा लागेको स्थानियले बताएका छन्।
जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले गत सोमबार देखि उखु ‘क्रसिङ’ सुरु गरिसकेको छ।
हाल किसानले धमाधम उद्योगमा उखु पुर्याउने तथा कतिपयले घर आँगनमै उखु पेलेर सख्खर बनाउन थालेका छन्।
जिल्लामा यस पालि ९ हजार ६०० बिघामा रहेको उखु खेतीमध्ये ५ हजार बिघामा खुट्टी रहेको छ।
मङ्सिर १५ भित्रै खुट्टी उखु कटान गर्न चिनी उद्योग सञ्चालन हुन पर्नेमा त्यसमा ढिलाइ हुँदा किसानलाई केही धपेडी परेको उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताएका छन्।