भदौ २ काठमाडौं ।
अलैंचीको मूल्य अहिले सम्मकै बृद्धि भएको छ।
किसानले उत्पादन गर्दै आएको अलैची बेच्ने बेलमा भाउ उच्च हुँदा किसान उत्साहीत भएका छन्।
भदौ–असोजतिर भाउ धेरै हुनु भनेको मङ्सिर–पुसतिर अझै बढ्न सक्ने सङ्केत भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताएका छन्।
अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रतिमन (४० केजी)को ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घले जनाएको छ।
नेपालको ४२ जिल्लामा अलैँचीखेती हुने गरे पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ।
आर्थिक वर्ष २०८१, ८२ मा काँकडभिट्टा नाका भएर रु.७ अर्ब ६७ करोडको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।
नेपालमा उत्पादित अलैँची सोझै विश्व बजारमा पुर्योउन नसक्दा नेपालमा उत्पादित ९० प्रतिशत अलैँची नेपाल बाट भारत लगेर त्यहाँ ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको जनाएको छ।