जेठ २० काठमाडौं ।
बर्सेनि अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको संख्या बढ्दो छ। अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको तथ्याङ्कअनुसार गत आवमा पर्यटकको सङ्ख्या २९ प्रतिशतले वृद्धि भएको र चालु आवमा अझ बढ्ने अनुमान गरिएको जनाएको छ।
आयोजना प्रमुख डा. रविन कडरियाले गत आवमा दुई लाख २२ हजार एक सय ८० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकामा चालु आवको दस महिनामै त्यो भन्दा बढी पर्यटक आएको बताएका छन्।
आजकै दिन अर्थात् सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गरेसँगै बिस्तारै अघि बढेको अन्नपूर्ण क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ।
कोभिड–१९ महामारी थामिएपछि पर्यटकको सङ्ख्या अहिलेसम्मकै उच्च दरमा वृद्धि भएको ‘एक्याप’ का प्रमुख डा. कडरियाले बताएका छन्।
‘एक्याप’ ले अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ। हिमश्रङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ।
कास्की, लमजुङ, मुस्ताङ, मनाङ, म्याग्दी लगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ।
अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिल लगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।