जेठ १८ काठमाडौं।
२० महिना देखि जारी युद्धको कारण गाजामा मानवीय अवस्था गम्भीर बनेको राष्ट्रसंघले जनाएको छ। हमासले इजरायलमा २०२३ अक्टोबर ७ मा आक्रमण गरेपछि २० महिनादेखि जारी युद्धका कारण गाजामा हालसम्मकै गम्भीर संकट उत्पन्न भएको छ।
सशस्त्र समूहले डेइर अल–बलाहको एक अस्पतालमा ल्याइएका ५ ट्रक औषधिजन्य सामग्री र बालबालिकाको पोषण खाना लुटेको छ। राष्ट्रसंघको अनुसार झन्डै ८० दिनदेखि आपूर्ति पूर्णरूपमा बन्द गरिएकाले गाजामा स्वास्थ्य तथा खाद्यान्न संकट चरम अवस्थामा पुगेको छ।
निरन्तर बम आक्रमण, कुपोषण, ठूलो संख्यामा सर्वसाधारणको विस्थापन र सार्वजनिक सुरक्षाको अभावका कारण अहिलेको परिस्थिति अति संकटपूर्ण भएको संयुक्त राष्ट्रसंघ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले जनाएको छ। डेइर अल–बलाहको एक अस्पतालका लागि लगिएका ती औषधिजन्य सामग्रीमध्ये अधिकांश लुटिएको सञ्चारमाध्यमले जनाएका छन्।
केरम शालोम भनिने नाका आसपास क्षेत्रका लागि राहत सामग्री बोकेर पुगेका ६० वटा सवारीसाधन भने द्वन्द्वका कारण फर्कनुपरेको छ। राष्ट्रसंघका महासचिवका प्रवक्ताका अनुसार नाका वरपरको ‘नो म्यान्स ल्यान्ड’ क्षेत्रमा हतियारधारी समूहका गतिविधि बढ्दो रहेकाले अवस्था थप जटिल बन्दै गएको जनाएको हो।
इजरायलले गाजामा भित्रिने राहत सामग्रीको मात्रा र प्रकारमा प्रतिबन्ध लगाउँदै नाकाबन्दीलाई झन् झन् कडा पार्दै लगेपछि गाजावासीले भोकमरीकै कारण ज्यान गुमाउनुपर्ने जोखिम बढ्दै गएको छ। संयुक्त राष्ट्रसंघ र यसका साझेदार संस्थाहरूले विभिन्न कठिनाइका बाबजुद पनि गाजामा आवश्यक सहयोग पु¥याउने प्रयास भने गरिरहेका छन्।