चैत २८ काठमाडौं ।
काठमाडौंमा नेपाल र भारतको भन्सार उच्च अधिकारीहरको बैठक सुरु भएको छ।
वैदेशिक व्यापारलाई थप सरल बनाउन र अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देश नेपाल र भारत बीचको भन्सार अधिकारीहरुको बैठक सुरु भएको हो।
दुई देशका भन्सार कार्यालयहरु बीचमा निर्यात व्यापार सँग सम्बन्धित प्रारम्भिक सूचनाहरु अग्रिम उपलब्ध गराउनेबारे छलफल हुने भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले जनएका छन्।
‘बैठकमा दुई देशका भन्सार कार्यालयहरू बीचमा आयात–निर्यात व्यापारसँग सम्बन्धित गुणस्तर परीक्षण, प्रारम्भिक सूचनाहरू अग्रिम उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली लागु गर्ने विषयमा छलफल हुने जनाएको छ।
भैरहवा तथा दोधारा– चाँदनीमा निर्माणाधीन एकीकृत जाँच विन्दु (इन्टिग्रेटेड चेक प्वाइन्ट) लाई लक्षित समयसीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागु गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने नेपालले लागु गरेको राष्ट्रिय एकद्वार प्रणालीमार्फत विद्युतीय रूपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने एजेन्डामा लगायतमा नेपालले छलफल गर्ने जनाएको छ।