आगन्तुक चराले थाप्यो घोडाघोडीको सुन्दरता

मंसिर ३ काठमाडौं ।
आगन्तुक चराहरूको चहलपहलले घोडाघोडी ताल क्षेत्रको सुन्दरता बढेको छ।

पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन्। सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराका लागि उपयुक्त बासस्थान मानिन्छ।

उत्तरी ध्रुवका साइबेरिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, मङ्गोलिया, युरोप लगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून भई तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने गरेको चराविद् डा हेमसागर बराल बताउँछन्।

अत्यधिक चिसोमा अनुकूलन हुन नसक्दा र आहारा कमीका कारण चिसो छल्न नेपाल लगायत दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराहरूको सङ्ख्या ठूलो रहेको उनले बताए।

घोडाघोडीमा हाल आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दूरे, हरियो टाउके लगायत हाँस प्रजातिका जलपन्छी आएका छन्।

रामसारको प्रावधान अनुसार विश्वका आठमध्ये दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन्। हरिहाँस, बगाले सिम कुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेको छ।

‘विश्वभरका एक हजार तीन सय १४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यस ताल क्षेत्रमा मात्र पाइन्छन्। त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताका दृष्टिले घोडाघोडी ताल महत्वपूर्ण छ।

आगन्तुक चराको आगमन संगै चराको चिरबिर आवाज र चहलपहलले घोडाघोडी ताल क्षेत्रको माहोल थप रमणीय र मनमोहक भएको छ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *