कात्तिक २५ काठमाडौं ।
कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट सुरु भई १० दिनसम्म मिथिलाञ्चलका चेलीबेटीले मनाउने यो पर्व चलिरहेको छ।
स–साना माटाका आकर्षक मूर्तिहरू बनाई मनाइने सामा चकेवा पर्वले कार्तिक महिनाको सन्ध्याकालीन वातावरणलाई मनमोहक एवं सङ्गीतमय बनाइरहेको छ। जीवनको आदर्श र कलात्मक पक्षहरूलाई चाडपर्वसँग गाँसेर मैथिली समाजले यो पर्व मनाउने गरेका छन्।
मिथिलाञ्चलका चेलीबेटी लोक पर्व सामा चकेवा पर्वको अवसर पारेर माटोबाट निर्मित कलात्मक मूर्तिसहित लोकगीतको भाकामा नाचगान गर्ने गर्दछन्। कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न गीतहरू गाएर सखी सहेलीहरुसँगै सामा चकेवा पर्व मनाइन्छ।
कार्तिक पूर्णिमाका दिन बहिनी आफ्नो भाइलाई निमन्त्रण दिन्छिन्। भाइले घुँडामा राखेर सबै मूर्ति तोड्छन् र ती मूर्तिहरूलाई जोतेको खेतमा विसर्जन गरेपछि। बहिनीले भाईलाई मिष्ठान्न, दही, चिउरा, सख्खरको भोजन गराउँछन्।
यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ। सामा चकेवा पर्वलाई भाई बहिनी बिचको अगाध प्रेमको प्रतीकको रूपमा लिइन्छ।