कात्तिक १२ काठमाडौं ।
जापानमा निर्वाचन परिणामले लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आम निर्वाचनमा बहुमत गुमाएको छ।
विश्वको चौथो ठूलो अर्थव्यवस्था भएको जापानका लागि निर्वाचन परिणामले आगामी दिन कस्तो रहला भन्ने चासो व्यक्त भइरहेको छ।
प्रधानमन्त्री इशिबाले निर्वाचन अघि नै निकै कठिन परिस्थितिको सामना गर्नु परेको अभिव्यक्ति दिएका थिए। नभन्दै उनलाई आइतबार भएको निर्वाचन परिणामबाट झट्का लागेको छ।
प्रधानमन्त्री इशिबा र उनको गठबन्धनले ४६५ सदस्यीय तल्लो सदनमा आवश्यक बहुमत गुमाएको जापानको सरकारी समाचार माध्यम एनएचकेले जनाएको छ। जापानको दुई सदनात्मक व्यवस्थामा तल्लो सदनलाई शक्तिशाली मानिन्छ।
जापानको तल्लो सदनमा ४६५ सिट छ । बहुमतका लागि २३३ सिट आवश्यक थियो। तर, प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र गठबन्धनका सहयोगी कोमितोले २०९ सिट मात्र जिते।
यस अघि एलडीपी गठबन्धनसँग २७९ सिट थियो। एलडीपीका लागि यो नतिजा सन् २००९ पछिकै खराब हो। जापानको सरकारको नेतृत्वकर्ता दल एलडीपी केही समयदेखि विवादमा परेकाले उसको लोकप्रियता खस्किएको बताएका छन्।