असोज १५ काठमाडौं ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका फाँटहरुमा पाकेको पहेँलपुर भित्र्याउन बेलाको धान बाढीले सखाप पारेको छ।
रोशी खोलामा आएको बाढी धान फाँटमा पस्य पछि बाढीसँगै आएको लेदो माटोले खेत बगरमा परिणत गरेको छ। दसैँ अघि थन्क्याईने धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि किसान निराश भएका छन्।
बाढीले खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ त कहीँ ढालेर सोतर बनाएको छ भने कतै बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेर बगर बनाइदिएको छ। सुनकोशी गाउँपालिका भित्रको क्षेत्रमा मात्रै तीन सय बिघामा लगाइएको धान बाली बाढीले नष्ट गरेको छ।
गोलञ्जोर गाउँपालिका क्षेत्रमा भित्र्याउने बेला भएको ३० बिघाको धान बाली क्षति भएको छ भने हरिहरपुरगढी गाउँपालिकामा वाग्मती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँटलगायत स्थानका धान बाली सखाप बनाएको छ।