असोज ९ काठमाडौं ।
पर्यटकका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरू भएको छ। अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो। ‘मर्दी हिमाल, तारा हिलटप लगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र उत्पादित फोहर आफैले लिएर आउन पर्यटकलाई आग्रह गरेका आयोजना प्रमुखले भने, ‘पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गरिएको छ।’
अहिले स्थानीय होटल व्यवस्थापन समिति, आमा समूहलगायत क्लब परिचालन गरेर फोहर व्यवस्थापन गरिएको छ। अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर पुनःप्रयोगमा आउने सामग्री लिएर जान अनुरोध गरिएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा मनाङ, म्याग्दी, कास्की, लमजुङ र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा छन्। अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ। बर्सेनि असोज–कात्तिक र चैत–वैशाखमा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको भिड लाग्ने गर्छ।
कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ।