वैशाख १० काठमाडौं ।
रामेछापमा भएको महोत्सवमा फिल्म ’दिमाग खराब’ बाट निश्चल बस्नेत सर्वोत्कृष्ट निर्देशक घोषित भएका छन्। तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ’सतीदेवी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ।
’नांगो गाउँ’ बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता घोषित भए । सर्वोत्कृष्ट घोषित ’सतीदेवी’ ले पटकथा विधामा पनि अवार्ड पायो। अभिनेत्रीतर्फ ’दिमाग खराब’ बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट भइन।
अभिनेत्री मलिका महतले यही फिल्म बाट उत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितिन् भने सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुषाल अभिनीत ’विच्छेद’ ले जुरी मेन्सन अवार्ड प्राप्त ग¥यो।
महोत्सवमा बोल्दै चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहालले ग्रामीण परिवेशमा बन्ने फिल्महरू छायांकनका लागि रामेछाप उपयुक्त स्थान हुन सक्ने बताए।
बिहीबारदेखि शनिबारसम्म चलेको महोत्सवमा ’दिमाग खराब’, ’नांगो गाउँ’, ’बिच्छेद’, ’सतीदेवी’, ’डेसान’ लगायतका फिल्महरू निःशुल्क प्रदर्शन भए। साथमा सर्ट फिल्म, डकुमेन्ट्री र विभिन्न भाषाभाषीका फिल्महरू देखाइएको थियो।