काठमाडौं ७ फागुन।
भारतीय सेयर बजारमा ‘निफ्टी–५०’ सूचकले हालसम्मकै उच्च अंकको रेकर्ड बनाएको छ। भारतीय स्टक बजारमा सूचीकृत ५० वटा ठूला कम्पनीको भारित औसत मूल्य जनाउने यो हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
सोमबार निफ्टी ८१ अंक बढेर २२,१२२ अंकमा बन्द भयो। कारोबार बन्द हुँदा यो अंक हालसम्मकै उच्च हो। यद्यपि सोमबार कारोबार भइरहँदा यो सूचक २२,१८६ अंकसम्म पुगेको थियो। जुन अंक अहिलेसम्मकै उच्च हो। बीएससी सेन्सेक्स २८१ अंक बढेर ७२,७०८ अंकमा पुगेको छ। बीएससी पनि केही दिनदेखि बढिरहेको छ। यद्यपि पछिल्लो ५२ साताको कारोबारलाई हेर्दा बीएससी सूचक उच्चतम ७३,४२७ अंकसम्म पुगेको छ।
अरु मुलुकको तुलनामा सन् २०२४ मा भारतीय अर्थतन्त्रको वृद्धि मजबुत रहने प्रक्षेपण भइरहँदा विश्वका लगानीकर्ताले स्टक मार्केटमा लगानी बढाएको भारतीय सञ्चारमाध्यमको दाबी छ । यसले भारतका कर्पोरेट क्षेत्रको बिजनेस पनि बढ्ने अनुमान छ ।