काठमाडौं २६ माघ।
नेपाल भ्रमणका बेलायतका विदेश राज्यमन्त्री एन्ड्रयु मिचेल आउने भएका छन्। बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री मिचेल दुई दिने नेपाल भ्रमणका लागि नेपाल आउने भएका हुन्। एक साता अघिमात्र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सले चार दिने नेपाल भ्रमण गरी फर्केको केही दिनमा राज्यमन्त्री मिचेन नेपाल आउन लागेका हुन्। अहिलेसम्म घोषणा भइ नसकेको उक्त भ्रमण आगमी २९ माघ र १ फागुनमा हुने कूटनीतिक स्रोतले जनाएको छ।
भ्रमणका क्रममा राज्यमन्त्री मिचेलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। नेपाल र बेलायतबीच सन् १९२३ को शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पुगेको अवसरमा दुई देशबीच उच्चस्तिरीय भ्रमण भइरहेका छन्।
मिचेल २५ अक्टोबर २०२२ देखि विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारीमा छन् ।