काठमाडौं, २४ असार
प्रहरीले आइतबार ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ । सीआईबीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको छ ।
बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
यसैगरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छ । २०४९ सालदेखि २०६९ सालको अवधिमा ललितानिवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । सीआईबीले यो प्रकरणमा अहिले सरकारी लिखत किर्ते र संगठित अपराधको कसूर अन्तरगत अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको छ ।