जेठ ८ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ६१ दिनका लागि १ खर्ब रुपैयाँ तानेको छ।
६१ दिन अवधिको लागि निक्षेप संकलन उपकरणमार्फत आज बैंकिङ प्रणाली बाट १ खर्ब रुपैयाँ खिचेको हो।
कर्जा प्रवाह न्यून हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता रहे पछि राष्ट्र बैंकले विभिन्न माध्यम बाट अधिक तरलता खिच्ने काम गर्दै आएको छ।
यो निक्षेप उपकरणमा बैंक तथा वित्तीय संस्थाले राख्न चाहेको रकम तथा ब्याज कबुल गरेर दिउँसो ३ बजेसम्म अनलाइन बिड गर्न सक्ने जनाएको छ।
यस्तो रकमको बोलकबोल बाटै ब्याजदर तय हुन्छ। बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड तथा अधिकतम कुल आह्वान रकमसम्म बोल गर्न सक्ने जनाएको छ।
निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
