वैशाख ६ काठमाडौं।
कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ।
ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको हो।
कञ्चनजंघा क्षेत्रमा चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमण्का लागि उपयुक्त मौसम मानिने भएकाले आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको जनाएको छ।
पछिल्लो एक महिनामा १६५ जना विदेशी पर्यटकले कञ्चनजंघा संरक्षण क्षेत्र भ्रमण गरेको व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाले जनाएका छन्।
वर्षमा दुई पटक प्रमुख पर्यटकीय याम मानिन्छ। पहिलो चैतदेखि जेठसम्म र दोस्रो असोज देखि मङ्सिरसम्म रहेको शेर्पाले जानकारी दिएका छन्।
कञ्चनजंघा आधार शिविर पुग्न दुई प्रमुख पदमार्ग प्रयोग हुँदै आएका छ। जसमा पाँचथरको गणेशचोक हुँदै सिरिजंघा गाउँपालिका भएर र काठमाडौं बाट हवाईमार्ग हुँदै सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी आधार शिविर पुग्न सकिन्छ।
पर्यटकलाई लक्षित गर्दै कञ्चनजंघा पदमार्गमा सानाठूला गरी ५२ वटा होटल सञ्चालनमा रहेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ।
कञ्चनजंघा आधा् शिविर भ्रमण गर्नेका लागि जापान, जर्मनी, अष्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेन लगायत देश बाट पर्यटक आउने गरेको जनाएका छन्।
