वैशाख १ काठमाडौं ।
बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनालाई पुनः पक्राउ पुर्जी जारी गरेको छ।
पूर्वप्रधानमन्त्री शेख हसिना, उनकी बहिनी शेख रेहाना र भतिजी ट्युलिप रिजवाना सिद्दिकीसहित अन्य ५० जना विरुद्ध बंगलादेशको एक अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले भ्रष्टाचार विरोधी आयोग (एसीसी) द्वारा दायर गरिएका तीन छुट्टाछुट्टै आरोप पत्रहरूलाई संज्ञान लिएर अदालतमा अनुपस्थित भएकोमा अभियुक्तहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको स्थानीय सञ्चारमाध्यमहरुमा उल्लेख गरेको छ।
राजनीतिक शक्तिको दुरुपयोग गरेर जग्गाको अवैध अधिग्रहण गरेको आरोपमा राजधानी ढाकाको एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। न्यायाधीशले पक्राउ पुर्जीको कार्यान्वयन सम्बन्धी प्रतिवेदनको समीक्षा गर्न अप्रिल २७ तारिख तोकेको छ।
ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार एसीसीले हालै जग्गा बाँडफाँडमा भ्रष्टाचारको तीन छुट्टाछुट्टै मुद्दामा ५३ जनाविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको थियो। गत वर्ष हिंसात्मक विरोध पछि शेख हसिनाको सरकार ढलेको थियो।