भदौ २७ काठमाडौँ ।
इन्द्रजात्रा श्रावण शुल्क चौथीका दिन पहिलो पूजा गरेर नृत्य प्रशिक्षण सुरु हुने र भाद्र शुक्ल चतुर्थीका दिन दोस्रो पूजा गर्दै महानगरपालिका १८ किलागलमा नाचिने पौराणिक नाच दी प्याखं (देवी नाच) नाच्न थालिएको छ।
कायअष्टमीका दिन ‘पिदने’ नामको तेस्रो पूजा गरेर मुकुट, मुकुन्डो लगाएर पोसाकसहितको नृत्य गरिएको हो। यसलाई ‘घँगलासि’ भनिन्छ। यसमा पात्रहरूलाई दैवी शक्ति प्राप्त होस् भनेर पूजा गर्ने गरिन्छ।
यो नृत्य इन्द्रध्वज उत्थान गर्नु अगाडि वसन्तपुरको कागेश्वरी महादेव मन्दिर अगाडिको डबलीमा नचाइन्छ। यसपछि इन्द्रध्वज ठड्याएपछि इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको मानिन्छ।
इन्द्रजात्राका अवसरमा नचाइने नाचहरूमध्ये यो एउटा हो। इन्द्रजात्रा (क्वनेयाः) का दिन जैसीदेवल अगाडिको डबलीमा नाच नाचिन्छ।
देवी पात्रहरूमा भैरव, कुमारी, चण्डी, दैत्य, कवं (कङ्काल), बेताः (बेताल) र ख्याः (ख्याक) हुन्छन्। नाचले असत्य माथि सधैँ सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ।
विभिन्न मुद्रा र आसनमा नचाइने यो नाच, शान्ति होस्, रोगव्याधी नहोस्, विनाशकारी र प्रलयकारी घटना नहोस् भन्ने कामनासहित प्रस्तुत गरिन्छ।