काठमाडौं, पुष ३
गुल्मीको मुसिकोट नगरपालिका–२ की २० वर्षकी विपना महत जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि पढ्नका लागि तम्घास आएकी हुन् । उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काइन् । यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचिन् । उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । त्यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरु गरिन् ।
बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन् । बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेच्छिन् । ‘चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ’, उनी भन्छिन्, ‘घरखर्च सबै कटाएर रु ६० हजार बचत गर्दै आएकी छु ।’ विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिक रूपमा औसत कमाइ रु तीन हजार भएको बताइन् ।
आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनको भनाई छ । उनी बिहान ६ बजे बजारमा चिया बेच्न निस्किन्छिन् । त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्किन्छिन्। तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताइन् । आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ ।
उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् । भने चिया बेच्दै बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको उनको भनाई छ । विपनाका बुवा हरिबहादुर कृषक हुन भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका हुन् । चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ ।
विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँ ठाउँमा केही सुझाव दिन्छिन् । उनले केही काम गर्ने लजाउने वा डराउने बानी राख्नै नहुने बताइन् अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन् ।