असोज ८ काठमाडौं ।
आज देखि नयाँ दरको १००० को नोट चलनचल्तीमा आएको छ ।
नेपाल राष्ट्र बैंकले आज देखि साविककै आकार र बैजनी घेराभित्र फिक्का हरियो रङको १ हजार दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।
एक हजार दरका नयाँ नोट प्रचलनमा ल्याउन लागिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको र सोको मुनि १००० अंकित पानी छाप रहेको जनाएको छ ।
नोटको मध्य खण्डमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तिहरूमध्ये देवकली भनी चिनिने हात्ती बाट जन्म भएका दुर्लभ मानिने राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुईवटा हात्तीहरूको चित्र रहेको छ ।
चलनचल्तीमा ल्याइने १ हजारको नयाँ नोटको सिरिज २०२५ र संकेत नम्बर ९२०००००१ देखि ५०९९९९९९ रहेको छ ।
यस अघि ७ साउन २०७७ देखि चलनचल्तीमा ल्याइएको १ हजार रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ६८०००००१ देखि ९१४४०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।