भदौ २१ काठमाडौं ।
मनास्लु हिमाल आरोहण गर्न ३ सय बढीले अनुमति लिएका छन् ।
यस वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न ३ सय ४८ जनाले अनुमति लिएका हुन् ।
पर्यटन विभागको गत पछिल्लो तथ्याङ्क अनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएको जनाएका छन् ।
विभाग बाट अहिलेसम्म कुल ३२ टोलीका ३६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोही रहेको विभागले जनाएको छ ।
शरदऋतु (असोज, कात्तिक) मा हिमाल आरोहण गर्नेहरु जारी पर्वतारोहण अनुमति बाट १५ करोड ९६ लाख २० हजार ८२८ रुपैयाँ रोयल्टी सङ्कलन भइसकेको पर्यटन विभागले जनाएको छ ।
त्यस मध्ये मनास्लुका आरोही बाट मात्र १५ करोड ८७ लाख ५६ हजार २५० रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ ।
गोरखाको चुमनुब्री–१ सामागाउँमा रहेको ८ हजार १६३ मिटर उचाइको मनास्लुमा केही वर्ष देखि पर्वतारोहीको आकर्षण बढ्दै गएको जनाएको छ ।
अहिले मनास्लु हिमाल आरोहणका लागि शेर्पाहरूले क्याप निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेको आरोही नाङ्स्याल छोदेनले बताएका छन् ।
आरोहीहरू भने सोमबार (सेप्टेम्बर ७) पछि मात्र बेसक्याप आउने छोदेनले बताएका छन् । मनास्लु हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसलाई किलर माउन्टेनका रूपमा पनि चिनिन्छ ।
सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।