चैत २९ काठमाडौं।
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य सरकारले तोकेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ र चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा तोकेको हो।
सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य तोक्दै गत वर्षको तुलनामा दुवै बालीको मूल्यमा वृद्धि गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयको निर्णय अनुसार यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य गत वर्षभन्दा ७७ रुपैयाँ ६२ पैसाले बढी र चैते धानको मूल्य गत वर्षको तुलनामा ५५ रुपैयाँ ८ पैसाले बढी रहेको जनाएको छ।
मन्त्रालयको अनुसार चैते धानको समर्थन मूल्य १८ प्रतिशत चिस्यान भएको धानमा लागू हुने र यदि धानमा चिस्यानको मात्रा १८ प्रतिशतभन्दा बढी पाइएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाएर भुक्तानी दिइने व्यवस्था गरिएको जनाएको छ।