चैत ८ काठमाडौं।
आज देखि मिथिलाञ्चलमा चैती छठ पर्व सुरु भएको छ।
आज देखि महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा विधिवत रुपमा चैती छठ पर्वको सुरु भएको हो।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आज देखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायत सम्पूर्ण मिथिलाञ्चल भरि धार्मिक विधिपूर्वक सुरु भएको जनाएको छ।
चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबास लगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा यस क्षेत्रको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी तथा नहरका किनारमा धुमधामका साथ मनाइने गरिन्छ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवको पुजारी कामेश्वर पाठकले बताएका छन्।
अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरि पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोग बाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले माइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको छ।