चैत ६ काठमाडौं।
लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सव सुरु भएको छ।
बिहिबार देखि सुरु भएको महोत्सव कार्याक्रमको प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा रहेका थिए।
महोत्सव अन्तर्गत विशेष ध्यान कार्यक्रम र अन्तर्राष्ट्रिय शान्ति म्याराथन, सांस्कृतिक प्रस्तुति, आध्यात्मिक प्रवचन तथा अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गरिने जनाएको छ।
नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा कार्याक्रम सुरु भएको छ।
कार्यक्रम उद्घाटन समारोहमा पर्यटनमन्त्री सिन्हाले विश्व शान्तिका लागि लुम्बिनीले पुनः एकपटक आध्यात्मिक केन्द्रको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै विभिन्न देश बाट आएका प्रतिनिधिहरूको उपस्थितिले लुम्बिनीलाई अन्तर्राष्ट्रिय मञ्च बनाएको बताएका छन्।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले वर्तमान अन्तर्राष्ट्रिय परिवेश झन् जटिल र अस्थिर बन्दै गइरहेको सन्दर्भमा शान्ति हरेक मानवको आधारभूत आवश्यकता बनेको उल्लेख गरेका छन्।
चीन शान्तिपूर्ण विकासको मार्गमा अघि बढ्दै विश्वका शान्तिप्रेमी राष्ट्रहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको राजदूत चाङले बताएका छन्।
नेपाल–चीनबीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई उल्लेख गर्दै उनले लुम्बिनी विश्व शान्तिको प्रतीकका रूपमा स्थापित भइसकेको धारणा राखेका छन्।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनी सम्पूर्ण मानव सभ्यताको साझा धरोहर भएको उल्लेख गरेका छन्।
शान्ति, सहअस्तित्व र मानवताको सन्देशलाई खेलकुद मार्फत विश्वमञ्चमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको श्रेष्ठले बताएका छन्।
महोत्सवले अन्तर्राष्ट्रिय शान्ति म्याराथनसहित विभिन्न खेलकुद गतिविधिहरूले शान्ति र विकासको सशक्त माध्यमका रूपमा योगदान पु¥याउने विश्वास लिइएको बताएका छन्।
कार्यक्रमको स्वागत मन्तव्य दिँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले बुद्धको शिक्षालाई केवल विश्वास नभई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याएका छन्।
लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी, नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्थाको सहकार्यमा आयोजना गरिएको महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताएका छन्।