माघ २७ काठमाडौं।
अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बढेको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्क अनुसार सन् २००१ देखि २०२५ सम्मको अवधिमा सन् २०२५ मा मात्रै हालसम्मकै सबैभन्दा धेरै २ लाख ९९ हजार ८३१ पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेर नयाँ रेकर्ड कायम गरेको जनाएको छ।
सन् २००१ मा करिब ६५ हजार, सन् २०११ मा १ लाख, सन् २०१५ को भूकम्प र सन् २०२०–२१ को कोरोना महामारीका कारण केही वर्ष पर्यटक आगमनमा भारी गिरावट आए पनि त्यसयताको वृद्धिदर निरन्तर बढ्दो रहेको जनाएको छ।
एक्यापका प्रमुख डा. रबिन कडरियाको अनुसार अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रजस्ता आकर्षक गन्तव्यका कारण यहाँ पर्यटकको आकर्षण बढेको जानकारी दिएका छन्।
प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमाली जनजीवनको अवलोकनका लागि अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटक मात्र नभई आन्तरिक पर्यटकको लागि पनि आर्कषक बनेको छ।
कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहमा फैलिएको यो क्षेत्र पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ।