माघ २५ काठमाडौं।
नेपालमा जलपन्छीको संख्या घट्दो रहेको छ।
जनवरी ३ देखि १८ सम्म गरिएको गणना अनुसार सिमसार क्षेत्रमा र त्यस अन्तर्गत ७८ साना क्षेत्रमा गरिएको गणनाले अघिल्लो वर्षको तुलनामा यस वर्ष जलपन्छी घटेको जनाएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको ‘एसियन वाटरवल्र्ड सेन्सस २०२६’ को नतिजाले जलपन्छीको संख्या ठूलो मात्रामा घटेको देखाएको हो।
यस वर्षको गणना बाट देशभरि ८९ प्रजातिका ९० हजार ६ सय ८८ जलपन्छी रहेको देखिएको विभागका वरिष्ठ इकालोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यले बताएका छन्।
जुन सन् २०२५ को तुलनामा ६ हजार भन्दा धेरैले कम भएको उल्लेख गरेको छ। गत वर्ष ९४ प्रजातिका ९६ हजार ५ सय ६५ जलपन्छी गणनामा देखिएको थियो।
तथ्यांक अनुसार काठमाडौं उपत्यका भित्र टौदह र बागमती नदीमा गत वर्ष १८ प्रजातिका २ सय ४ जलपन्छी रहेकोमा यस वर्ष घटेर १६ प्रजातिका १ सय ६४ जलपन्छी रहेको जनाएको छ।
त्यस्तै मनोहराफाँटमा गत वर्षको तुलनामा जल पन्छीको संख्या बढेर यस क्षेत्रमा १४ प्रजातिका ३ सय ७९ पन्छी पाइएको जनाएको छ।
गत वर्षको तुलनामा पोखरा उपत्यकाका सिमसारमा जल पन्छीको संख्या बढेर ४६ प्रजातिका ३ हजार ७ सय ६४ पन्छी गणना गरेको जनाएको छ।
रारातालमा भने १३ प्रजातिका २ सय ५३ पन्छी गणना गरिएको छ। जुन अघिल्लो वर्षभन्दा कम रहेको छ। पुरैनी र बन्धातालमा ५६ प्रजातिका २ हजार ३ सय ५२ पन्छी गणना गरिएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ७० प्रजातिका २२ हजार ८ सय १७ जलपन्छी भेटिएका छन्। नाखोडी ताल कैलालीमा १५ प्रजातिका ३ सय १४ चरा भेटिएको जनाएका छन्।
घोडाघोडी ताल क्षेत्रमा २४ प्रजातिका १ हजार १ सय ५० जलपन्छी र बर्दिया राष्ट्रिय निकुञ्जमा ५८ प्रजातिका ५ हजार ५ सय ४४ पन्छी भेटिएका छन्।
बाँके राष्ट्रिय निकुञ्जमा २५ प्रजातिका ५ सय ३६ र राप्ती नदी आसपास ३० प्रजातिका १ हजार १ सय ९४ जलपन्छी गणना भएका छन्।
त्यस्तै जगदीशपुर जलाशयमा ४१ प्रजातिका १० हजार २ सय ८२, लुम्बिनी क्षेत्रमा ४७ प्रजातिका ४ हजार २ सय ९ र चितवन राष्ट्रिय निकुञ्ज आसपास ६३ प्रजातिका २५ हजार ३ सय ५८ जलपन्छी रहेको पाइएको जनाएको छ।
हेटाैंडाका तालतलैया र नदीमा २२ प्रजातिका ३ सय ७९, धनुषाधाम र कमला नदीमा ३३ प्रजातिका २ हजार ५१, बर्जुतालमा ३३ प्रजातिका ४ हजार ५२ र कोशी टप्पु वन्यजन्तु आरक्ष आसपास ५६ प्रजातिका ५ हजार ८ सय ९० जलपन्छी गणना गरेका छन्।
विभागका अनुसार हरेक वर्ष जनवरी पहिलो शनिबारदेखि जलपन्छी गणना हुँदै आएको जनाएको छ।