माघ ७ काठमाडौं।
नेपाल–भारत निकासी गरिने सामाग्रीको अग्रिम सूचना दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
आज नेपाल र भारतबीच निकासी गरिने वस्तुको अग्रिम सूचना आदान–प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको हो।
भारत नयाँदिल्लीमा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड अध्यक्ष विवेक चतुर्वेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
सोही अवसरमा महानिर्देशक भण्डारीले भारतीय पक्षलाई धन्यवाद दिँदै सम्झौतालाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजान जोड दिएका छन्।
यस सम्झौता पत्रमा हस्ताक्षर भए पछि दुवै देशको भन्सार प्रशासनबीचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने तथा निकासी हुने वस्तु आगमनपूर्व तथ्यांक आदान–प्रदानबाट जोखिम विश्लेषण मार्फत जोखिम देखिएका वस्तुलाई निगरानी तथा नियमन गर्न सहज हुने भण्डारीले बताएका छन्।
बोर्ड अध्यक्ष चतुर्वेदीले भारतले नेपालसँग यस्तो समझदारीपत्रमा हस्ताक्षर गरेकोमा खुसी व्यक्त गर्दै उक्त समझदारीपत्रको शीघ्र कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेको जनाएका छन्।