पुस १९ काठमाडौं ।
गुल्मीमा थप ३० प्रजातिका नयाँ चरा फेला परेको छ।
नेपाल पन्छी संरक्षण संघको अनुसार जिल्लामा हालै गरेको चरा गणनामा थप ३० प्रजातिको नयाँ चरा फेला परेको जनाएको छ।
थप नयाँ ३० प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको संख्या जम्मा ३५५ पुगेको पन्छी संरक्षण संघले जनाएको छ।
जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवतीको वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणमा नयाँ २५ प्रजातिका चराहरु फेला परेको नेपाल पन्छी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिएका छन्।
यस अघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुई पटक चरा सर्वेक्षण गरिँदै आएकामा यस पटकको सर्वेक्षणमा थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा पनि चरा सर्वेक्षण गरिएको थियो।
नयाँ फेला परेका चराका प्रजातिहरुमा तिलहरी, मोटो ठूँडे पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपङ्ख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरा लगायत रहेको जनाइएको छ।
विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका चराहरु पाइन्छ। जसमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्द, सेतो गिद्द, सुन गिद्द र गोमायो माहाचिल रहेका छन्। भने काँडे भ्याकुर रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको जनाएको छ।
नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये गुल्मीमा करिब ४० प्रतिशत चरा फेला परेको नेपाल पन्छी संरक्षण सङ्घले जनाएको छ।