इरानमा जारी प्रदर्शन हिंसात्मक बन्दै

पुस १८ काठमाडौं।
इरानमा जारी प्रदर्शन हिंसात्मक बन्दै गएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार सरकारको आर्थिक नीतिको विरोध गर्दै तेहरानको ग्रान्ड बजारका व्यापारीहरूले बजार बन्द गर्दै सुरू गरेको प्रदर्शन हिंसात्मक बन्दै गएको जनाएको छ।

इरानी मुद्राको तीव्र अवमूल्यन र दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकासिएपछि इरानमा प्रदर्शन सुरू भएको हो।

आइतबार देखि राजधानी तेहरान बाट सुरू भएको प्रदर्शन आज सम्म आइपुग्दा लोरेस्तान, चारमहल–बख्तियारी, इस्फाहान, खुजेस्तान, केरमानशाह, हमेदान लगायत विभिन्न प्रान्तका सहरहरूमा फैलिएको छ।

इरानी सञ्चारमाध्यम र मानवअधिकार समूहहरूको अनुसार पछिल्ला तीन वर्षयताकै सबैभन्दा ठूलो विरोध प्रदर्शनहरू हिंसात्मक बन्दै जाँदा प्रदर्शनका क्रममा विभिन्न प्रान्तमा कैयौँको ज्यान गएको तथा सुरक्षाकर्मी र प्रदर्शनकारी बीच झडप हुँदा मृत्यु र घाइतेको संख्या बढिरहेको उल्लेख गरिएको छ।

फार्सका अनुसार लोर्डेगानमा सुरक्षाबल र ‘सशस्त्र प्रदर्शनकारी’ बीचको झडपमा दुई जनाको मृत्यु भएको हो।

मानवअधिकार वेबसाइट एचआरएएनएका अनुसार पश्चिमी केरमानशाह, खुजेस्तान र हमेदान प्रान्तमा दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।

पछिल्ला वर्षहरूमा इरानमा महँगी, खडेरी, महिला अधिकार र राजनीतिक स्वतन्त्रताको मुद्दामा भएका आन्दोलनहरू कडा सुरक्षात्मक कारबाही र व्यापक पक्राउ मार्फत दबाइँदै आएका छन्।

लगातारको आन्दोलनका बीच सरकारले चिसो मौसमको कारण देखाउँदै बुधबार देशका धेरै भागमा सार्वजनिक बिदा घोषणा गरेको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *