पुस ३ काठमाडौं ।
आज देखि चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ।
निकुञ्जमा बाघ गणनाका लागि पुस १ र २ गते तालिम दिएपछि १ सय ५० जना गणकहरू आज देखि कार्यक्षेत्रमा खटिएका छन्।
आज त्रिवेणी, अमलटारी, कसरा हुँदै बरणडाभार क्षेत्रमा गणकहरु खटिने निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिएका छन्।
पहिलो भाग अन्तर्गत यस क्षेत्रमा २८६ वटा ग्रिड बनाएर गणना गरिने र यस क्षेत्रमा एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने बताएका छन्।
चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गर्न लागिएको तथा उक्त ब्लकलाई तीन भागमा विभाजन गरिएको जनाएको छ।
एउटा भागमा दुई साता क्यामेरा राखी बाघ गणना गरिने र चितवन–पर्सा ब्लकमा ९ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना गर्न लागिएको जनाएको छ।
बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गरिँदै छ। हरेक चार, चार वर्षमा बाघ गणना गरिँदै आइएको छ। भने तीन महिना लगाएर बाघ गणना गरिने भएको छ।
निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएका छन्।
बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने र ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ।
बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने निकुञ्ज स्रोतले जनाएको छ।