असोज २ काठमाडौं ।
आज गणेशमान सिंहको २८ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले विविध कार्यक्रम गरी मनाउँदै छ।
गणेशमान सिंहले नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गर्दै, २०४६ को जनआन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए।
विसं १९९७ मा प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भएका सिंहको निधन २०५४ सालमा भएको थियो। नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैका लागि प्रेरणाको स्रोत रहेका छन्।
नेता सिंहको २८औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दै छन्।