असोज २ काठमाडौँ ।
बृद्धिलाल पौडेललाई श्री ३ भीमशमशेरले उनको दरबारमा अनुष्ठान गरेर चाँदीका सिक्का र तिलले पुरै शरीर पुरेर दान दिएछन् । उक्त रुपैयाँ भरिया लगाएर रामेछाप जिल्लाको सैपु गाउँसम्म पुर्याउनु भएको रहेछ । घरमा राख्दा चोरी हुँने डरले तामाका ध्याम्पामा भरेर, सनासोले ध्याम्पाको मुख बटारेर गहिरो खाल्टो खनेर कतै गाड्नु भएछ ।
बृद्धिलाल बा वित्नु भयो । उक्त सम्पति कहाँ गाडियो गाडियो उहाँका सन्तानले थाहा पाएनन् । अनुमान छ, त्यो सैपुको भेडाखोर भन्ने ठाउँमा गाडिएको हुनुपर्छ । भेडाखोर खलक भित्र उक्त गाडधनका हकदार छन् । बाहरू भन्नु हुन्थ्यो, उक्त गाडधन देवीप्रसाद पौडेल दाजुको घर घडेरी आसपास छ । यस्तो अर्को पनि घटना छ । इतिहासको कालखण्डमा नेपालले चीनलाई सर्तो बुझाउनु पर्ने रहेछ । माहिला हजुरबा सुवेदार देवनाथ पौडेल नेपालको तर्फबाट चीनको पेकिङमा स्थायी प्रतिनिधिको रुपमा खटिनु भएको रहेछ । त्यतै चीनीयाँ कन्यासँग विबाह पनि गर्नु भएछ । ति चीनियाँ हजुरआमा नेपालसम्म पनि लिएर आउनु भएछ ।
जेठी हजुरआमासँग झगडा पर्यो । भाषा मिलेन, घर पनि मिलेन । देवनाथ हजुरबाका साहिला भतिज लालप्रसाद पौडेलले सरकारी व्यवस्था मिलाएर ति हजुरआमालाई चीनतर्फ नै फिर्ता पठाउनु भएको थियो रे । देवनाथकी जेठी श्रीमतीलाई चीनाल्नी आमै भन्थे । गणेशप्रसाद पौडेल (बेलौरी, साहिलाबा) का घरमा मैले पनि देखेँ । उहाँ वि.सं. २०२८ माघमा वित्नु भयो । देवनाथ हजुरबा अन्तिममा नेपाल आउँदा भरिया लगाएर चाँदीका चीनीयाँ मोहोर रुपैयाँ ल्याउनु भएको रहेछ ।
चीनीयाँ मोहरलाई कालामोहर भनिँदो रहेछ । पालौरीमा एउटा फराकिलो बारी थियो । हामी त्यहाँ कपर्दी खेल्थ्यौँ । सायद माहिला हजुरबाको घर त्यहिँ हुनुपर्छ । चीनाल हजुरबाले पालौरीबाट पुलुतर्फको जङ्गलमा बृद्धिलाल बाकै झैँ काला मोहर गाड्नु भएको रहेछ । कहाँ गाडिएको छ, कसैले थाहा पाएन । उहाँ निःसन्तान हुनुहुन्थ्यो । यसका ओख्रेनी खलक हकदार हुनुहो । यो कुरा काहिँलाबा प्रेमप्रसाद पौडेल (भोटेबारी) र पिताजी तेजप्रसाद पौडेलबाट सुनेथेँ । हाम्रा बा हजुरबाका समयमा नेपालमा आजको जस्तो जताततै बैंक थिएनन् ।
विदेशतिर लगेर व्यापार र होटल व्यवशायमा लगानी गरौँ, आजको जस्तो व्यवस्था थिएन । आजका टठाबाठाले विदेशतिर व्यवस्थापन गरेको कुरा जताततै सुन्न पाइन्छ । घरमा राखौँ चोरीको भय हुनाले हाम्रा पुर्खाले दुःख गरेर कमाएका, दानदातव्यमा मिलेका चाँदीका सिक्का जमिनमुनी गाड्नु परेको थियो । गाडधन जो पायोलाई भन्न भएन । आफू मर्दा गाडधन गाडिएका गाडियै भए । अब भने बल्ल सन्तानहरूले मेटलडिटेक्टर प्रयोग गरेर पत्तालगाउन सक्ने सम्भावना प्रवल भएको छ । त्यस बेलाको सिक्का चाँदीका थिए । ओसारपसार गर्न गाह्रो थियो ।
आजको जस्तो नोटको विकास भएको थिएन । नोट गभर्नरले सहीछाप गरेको बैंकको तमासुक हो । यो बैंकमा राख्ने सुविधा छ । अब त अनलाइनबाट सबथोक हुन्छ । चिया खाएको पैसा तक अनलाइनबाट तिर्न मिल्छ । नेपालका मूर्धन्य भनेर कहलाईएका पाका पुराना मानिसले अर्वौँ मूल्य बराबरका नोट हाम्रा बृद्धिलाल र देवनाथ बाहरूकाझैँ मजेरीमा सुरक्षित तरिकाले खाल्टो खनेर गाडे हुन् । अहिले कम्प्युटरबाट छिरेर संसार चाहार्ने क्षमताको विकास भइसकेको छ । आजका किशोर किशोरीहरू बुढापुरानाबाट अबको दुनियाँ चल्दैन, राजनीति पनि चल्दैन भन्थे ।
भ्रष्टाचार अन्त्य गर्ने नाममा जेनजी नाम दिएर तिनले अभूतपूर्व आन्दोलन गरे । राजनीतिक ईतिहासमा काेतपर्वमा भन्दा ज्यादा निर्दाेस किशाेर विद्यार्थी मारिए । आन्दोलनमा घुसपेठ भयो, भन्ने पनि सुनियो । जे होस्, नेपालमा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा मूर्खतापूर्ण आगजनी भयो । त्यो नराम्रो भयो । धेरै नराम्रो मध्ये भष्म खरानीबाट एउटा बुद्धिको पोको पनि भेटियो । (यदि कम्प्युटरकाे करामत हाेईन भने) त्यो भनेको आजको युगमा मूर्धन्य भनिएका नेता महोदयका मझेरीमा गाडधन । नेपालका अगुवा त हाम्रा बृद्धिलाल-देवनाथ बाका युगमा छन् भने देश कहाँ होला ! धन्य अग्रज बुद्धि ! गाडधन माथि पलङ राखेर मस्तराम निदाइरहेका । युवाहरूले पुष्टि गरिदिए, ‘गाडधने’ पुस्ताबाट मुलुक चल्न सक्दैन ।
लेखक : पुर्व माननीय तथा एकीकृत समाजवादीका केन्द्रिय सदस्य हुनुहुन्छ