साउन ८ काठमाडौं ।
कालीकोटको पर्यटकीय गन्तव्य पचाल झरना बारे क्यूआर कोडबाट जानकारी लिन सकिने भएको छ।
नेपालको सबभन्दा अग्लो कालीकोटको पचालझरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ। सचिकृत भएसँगै नेपाल पर्यटन बोर्डले पचालझरनाका बारेमा पर्यटकलाई जानकारी दिन क्यूआर कोडको व्यवस्था गरेको हो।
आर्थिक वर्ष ०८२, ८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा प्रमुख गन्तव्यमध्ये कालीकोटको पचालझरनालाई ६४औँ स्थानमा सूचीकृत गरेसँगै क्यूआर कोडबाट नै जानकारी लिन पाइने भएको छ।
पचालझरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्यूआर कोड बनाएर पर्यटन बोर्डमा राखिएको र एउटा क्यूआर गाउँपालिकालाई हस्तान्त्रण गरेको पचालझरना गाउँपालिकाका उपाध्यक्ष अल्किना बमले बताएका छन्।
कालीकोटको पचालझरना गाउँपालिका–७ र ४ मा पर्ने पर्यटकीय पचालझरना ३८१ मिटर अग्लो रहेको गाउँपालिकाले दाबी गर्दै आएको छ। त्यस अघि नेपालको सबभन्दा अग्लो भनिँदै आएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र रहेको छ।
पचाल झरनामा पुग्नका लागि कर्णाली करिडोरको लाफागाड बाट तीन घण्टा पैदल र एक घण्टा गाडीमा पुग्न सकिन्छ।