साउन ८ काठमाडौं ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बाट निर्यात शून्य भएको छ। कोरोना महामारी अघिसम्म न्यून मात्रामा भए पनि यस नाकाबाट हातले बनाएको सामग्री र घ्यू निर्यात हुने गरेकोमा अहिले शून्य भएको हो।
कञ्चनपुर भन्सार कार्यालयको अनुसार शारदा ब्यारेजमा १० टनभन्दा बढीको मालवाहक सवारीसाधन आवतजावत गर्न नदिनु, सीमित समयका लागि पुल खोल्नु लगायत कारणले पछिल्ला वर्षमा यो नाका भएर निर्यात हुन छाडेको जनाएको छ।
निर्यात हुन छाडेपछि लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न नसकेको भन्सार कार्यालयले जनाएको छ। गड्डाचौकी नाका सानो भएका कारणले पनि निर्यात बाट मात्रा नभई आयात बाट समेत लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको बताएको छ।
आर्थिक वर्ष २०८१, ८२ मा रु ७४ करोड पाँच लाख ५९ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ५९ करोड ७७ लाख ५८ हजार मात्रै राजस्व असुल भएको जनाएको छ।