जेठ २९ काठमाडौं ।
मध्यपूर्वमा तनाव बढेसँगै विश्व बजारमा कच्चा तेलको भाउ बृद्धि भएको छ। लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ६९.७७ डलर पुगेको छ। जुन अघिल्लो दिनको तुलनामा ४.३४ प्रतिशतले बृद्धि भएको हो।
इराकमा अमेरिकी दूतावास खाली गर्ने तयारीका कारण विश्व बजारमा कच्चा तेलको भाउ बढेको जनाएको छ। इरान र अमेरिकाबीचको बढ्दो तनाव र इरानले अमेरिकी सैन्य शिविरमा आक्रमणको धम्की दिएका कारण तेलको आपूर्ति प्रभावित हुनसक्ने अनुमान गरिएको छ।
लन्डनस्थित आईसीई एक्सचेञ्जमा बिहीबार बिहानी समयमा बे्रन्ट क्रुडको भाउ २ डलर ९० सेन्टले बढेर प्रतिब्यारेक ६९ डलर ७७ सेन्टमा पुगेको थियो। अमेरिकी बेन्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट पनि ३ डलर १७ सेन्टले बढेर ६८ डलर १५ सेन्टमा उक्लिएको थियो।
अमेरिकाले इराकमा रहेको दूतावास खाली गर्ने तयारी गरिरहेको अप्रत्याशित खबर आएपछि व्यापारीहरूले धेरै क्रुड फ्यूचर्स किनेका थिए।