कञ्चनपुर र कैलालीमा बर्सेनी सारसको सङ्ख्या घट्दो

जेठ ८ काठमाडौं ।
कञ्चनपुर र कैलालीमा बर्सेनी सारसको सङ्ख्या घट्दो छ। सङ्ख्या सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या घट्दै गएको हो।

सिमसार क्षेत्रको विनाश, रासायनिक मलको प्रयोग र सिकारको कारण सारस चराको सङ्ख्या घट्दै गएको चराविज्ञले बताएका छन्।

सिमसार क्षेत्र मासेर खेती गर्न थालेपछि सारसको बासस्थान खुम्चिँदै जान थालेको त्यसले चरालाई आहाराको अभाव भएको नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताएका छन्।

सारसको सिकार गर्ने, अण्डा चोरी गर्ने कार्यसँगै जलवायु परिवर्तन, वातावरण प्रदूषण लगायतले थप जोखिम सृजना भएको जनाएको छ।

चराविज्ञ डगौराले कैलालीमा पाँच र कञ्चनपुरमा २२ वटासम्म सारस अभिलेख गरिएकोमा त्यो सङ्ख्या पछिल्ला वर्षहरूमा घट्दै गएको छ। कञ्चनपुरमा यस चराको सङ्ख्या करिब १० देखि १५ रहेको अनुमान गरिएको बताएका छन्।

अग्लो खुट्टा र लामो घाँटी हुने सारसको शरीर सेतो, घाँटी खैरो र टाउको रातो हुने गर्दछ। सारसको उचाइ पाँचदेखि छ फिटसम्म हुने गर्दछ। जीवनभर एउटै जोडीमा रहने सारसको तौल छदेखि १२ किलोसम्म हुने गरेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालिकिच ताल, बेलडाँडी गाउँपालिकाको सिमसार क्षेत्रमा सारस देखापर्ने गरेका छन्। यहाँ कहिलेकाहीँ बर्सातका बेला अन्य क्षेत्रका धान खेत तथा कैलालीको घोडाघोडी रामसार क्षेत्रमा आहारा खोज्दै गरेको अवस्थामा सारस देखापर्ने गरेका छन्।

हिंस्रक जनावर बाघ, चितुवा, स्याल, ब्वाँसो लगायत नजिक आउन थाले चराले ठूलो आवाजले कराएर जानकारी दिने गर्दछ। त्यसैले सारसलाई मानवमैत्री चराका रूपमा समेत लिने गरिन्छ।

सारसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पन्छीका रूपमा राखिएको छ। भने अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई संवेदनशील चराको सूचीमा राखेको छ।

तथ्याङ्कअनुसार रुपन्देही, कपिलवस्तु र नवलपरासीमा मात्रै सारसको सङ्ख्या छ सय बढी रहेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *