जेठ ४ काठमाडौं ।
अञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा बन्दै गएको छ। पछिल्लो समय विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको हो।
विशेषगरी साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको जनाएको छ।
हालै मात्र पाँच जना विदेशी नागरिकसहित १० जनाको टोलीले सफलतापूर्वक कञ्चनजङ्घा हिमाल आरोहण गरेका छन्। सफल आरोहण गर्नेमा बेलायत, इरान, कोसोभोका नागरिक र नेपाली शेर्पा समावेश छन्।
इलाइट एक्सपिडिसन काठमाडौँका निर्देशक मिङ्मा डेभिड शेर्पाका अनुसार थप ६३ आरोही र पथ प्रदर्शक कञ्चनजङ्घा हिमाल आरोहणका लागि हाल उक्त क्षेत्रमै रहेको बताएका छन्।
आन्तरिक पर्यटकको विस्तृत तथ्याङ्क भने कार्यालयहरूमा सूचीकृत गरिएको छैन।कञ्चनजङ्घा हिमाल समुद्री सतहबाट आठ हजार ५८६ मिटरको उचाइमा अवस्थित छ। यस हिमालको आरोहण तथा अवलोकनका लागि मुख्यः दुईवटा आधार शिविर दक्षिण र उत्तरी आधार शिविर छन्।
हिमाल आरोहणकर्ताले आधार शिविरमा केही दिन शारीरिक अभ्यस्तता गरी त्यसपछि क्रमशः १, २, ३ क्याम्प हुँदै शिखरतर्फ यात्रा गर्छन्। आरोहण सफल बनाउन पथप्रदर्शक, उच्च पहाडी कामदार, चिकित्सक र व्यवस्थापन समूहको सहभागिता अपरिहार्य मानिन्छ।
कञ्चनजङ्घा हिमाल प्राविधिक हिसाबले नेपालका अन्य आठ हजार मिटर उचाइ भएका हिमालमध्ये एकदमै कठिन मानिन्छ। बदलिँदो मौसम, पातलो अक्सिजन, हिमपहिरोको जोखिम लगायतले यसलाई चुनौतीपूर्ण बनाउँछन्।