वैशाख १२ काठमाडौं ।
मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या बढ्दो रहेको छ। एक्याप जोमसोम कार्यलयको अनुसार विसं २०८० मा कूल ९६ हजार ६४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९ दशमलव ७६ प्रतिशतले बढेर एक लाख ४४ हजार ७४५ जना पुगेको जनाएको छ।
एक्याप जोमसोम कार्यालयका प्रमुख राजेशप्रसाद गुप्तको अनुसार मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको बताएका छन्।
राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार विसं २०८० को तुलनामा २०८१ सालमा मुस्ताङ भ्रमाणमा आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका जनाएका छन्।
कार्यालयका अनुसार २०८१ वैशाखमा २० हजार ८०९, जेठमा २८ हजार ८५६, असारमा आठ हजार १८७, साउनमा तीन हजार ५५८, भदौमा छ हजार ६७९, असोजमा १३ हजार २१६, कात्तिकमा १४ हजार ५७८ र मङ्सिरमा सात हजार ५५३ जना, पुसमा ६ हजार ९७५, माघमा तीन हजार ५१७, फागुनमा नौ हजार ३२६ र चैतमा २१ हजार ४९१ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको बताएका छन्।
कार्यालयको अनुसार मुस्ताङ आउने सार्क राष्ट्रतर्फ ८० प्रतिशत भारतीय पर्यटक रहेको र कूल ७२ राष्ट्रका पर्यटकले मुस्ताङ भ्रमण गरेका छन।
केही वर्षयता राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकमार्ग सहज भएसँगै मुस्ताङ आउने आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य वृद्धि भइरहेको एक्यापको भनाइ छ।