चैत २९ काठमाडौं ।
भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्केट जात्रा सुरु भएको छ।
भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्रांगणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानतान गर्दै जात्राको सुरु गरेको हो।
बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथ र भद्रकालीको रथ तानातान गर्दै सुरु गर्ने परम्परा छ।
जात्रा अन्तर्गत गःहिटीमा भैरवनाथलाई बली चढाइ गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ। बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिंगो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिंगो उभ्याइन्छ।
बिस्का जात्राको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिंगो ढालिने परम्परा रहेको छ।