चैत २४ काठमाडौं ।
अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा भीषण आँधीबेहरी गएको छ। भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको जनाएका छ।
अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरुमा क्षति पुर्याएको, सडकहरु बाढीमय भएको साथै हालैका दिनहरुमा दर्जनौँ चक्रवात उत्पन्न भएको अधिकारीहरुले जनाएका छन्।
सामाजिक तथा स्थानीय सञ्चारमाध्यमहरुमा देखिएको तस्वीरहरुमा आँधीका कारण कैयौँ राज्यमा अधिक क्षति पुगेको घरहरू भत्किएको, रुखहरु ढलेको, बिजुलीको तार ढलेको र कारहरु पल्टिएको देखिएको छ।
आइतबारसम्म राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य–पूर्वी क्षेत्रका केही भागहरूमा ‘व्यापक रूपमा आकस्मिक बाढी’ आउन सक्ने उल्लेख गर्दै ‘जनजीवन र भौतिक संरचनामा क्षति हुने ठूलो खतरा रहेको’ चेतावनी दिएको छ।
केन्टुकीका गभर्नर बेशियरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धेरै समुदायमा बाढी उच्च स्तरमा पुगेको छ, राज्यका बासिन्दाहरूलाई ‘यात्रामा ननिस्किन र जल क्षेत्रको नजिक नजान’ आग्रह गरिएको छ।
आज बिहानसम्म एक लाखभन्दा बढी ग्राहक विद्युत्विहीन रहेको ट्र्याकिङ वेबसाइट ‘पावर आउटेज डट कम’ले जनाएको छ।
एनडब्लुएसले टेनेसी भ्याली र लोअर मिसिसिपी भ्यालीका केही भागमा मध्यमदेखि गम्भीर आँधीबेहरी आउन सक्ने जनाएको छ। वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङले जलवायु परिवर्तन र पानीको चक्रलाई बिथोलिरहेको जनाएका छन्।