चैत १० काठमाडौं ।
बारा र पर्सास्थित औद्योगिक करिडोर निर्माण अन्तिम चरणमा पुगेको छ। आम उपभोक्ताको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउनका लागि उच्च क्षमताका तीनवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ।
बाराको अमलेखगन्ज तथा प्रसौनी र पर्साको वीरगन्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।
वीरगन्ज क्षेत्रको विद्युत् माग एवम् आपूर्ति व्वस्थापन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन महत्पूर्ण रहेको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो अवस्थामा संवेदनशील र जिम्मेबार भएर निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन्।
आज कार्यकारी निर्देशक घिसिङले स्थलगत अनुगमन गरी सबस्टेसन र प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।
पथलैया–सिमरा–वीरगन्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिको समस्या समाधान र बढ्दो माग पूर्ति गर्न अमलेखगन्ज १३२, ६६ केभी सबस्टेसन तयार भएको छ। उक्त सबस्टेसनमा रहने अधिकांश मुख्य उपकरणहरू जडान भइसकेका छन्।
अमलेखगन्ज सबस्टेसनलाई आगामी जेठको दोस्रो साताभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरू भइरहेका छन्। भने पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनमध्ये एउटा सर्किटलाई अमलेखगन्ज सबस्टेसन भित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) गर्ने काम सकिएको छ।
त्यस्तै हेटौंडाबाट सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा विद्युत् आपूर्ति गर्ने ६६ केभी लाइनको दुवै सर्किटलाई सबस्टेसनमा लुप इन र लुप आउट गरिसकिएको छ। ६६ केभी लाइनको लम्बाइ पनि घट्ने र १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्तिको स्रोत हुने भएपछि अमलेखगन्ज सबस्टेसन सञ्चालनमा आएपछि सिमरा–वीरगन्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिमा सुधार हुने छ।
बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ,वीरगन्ज, परवानीपुर, पोखरिया, प्रसौनी लगायतका क्षेत्रमा हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना क्रमिक रूपमा बनाउन लागिरहेको छ।
वीरगन्ज क्षेत्रका उद्योगहरूले १३२ केभी प्रसारण लाइनबाटै विद्युत् आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन परवानीपुरबाट पोखरियासम्म १३२ केभी अर्को प्रसारण लाइन पोखरिया सबस्टेसन निर्माण अगाडि बढाइएको छ।