चैत ७ काठमाडौं ।
दुर्लभ रेडपाण्डा खोटाङको मेरुङ सामुदायिम वनमा भेटिएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको सामुदायिक वन क्षेत्रमा नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोल्सवलाई केन्द्रित गरेर यही चैत १ गते देखि वन क्षेत्र प्रवेश गरेको टोलीले चौँथो दिन आज रेडपाण्डा भेटेको हो।
रेडपाण्डाको फोटो तथा भिडियो खिच्न तथा रेडपाण्डासम्बन्धी स्थलगत अध्यया गर्ने उद्देश्यले गएका टोलीले मेरुङ सामुदायिम वनमा दुर्लभ रेडपाण्डा भेटाएका हुन्।
दिक्तेल रुपाकोट मझुवागढी–६ का वडाध्यक्ष माधव राईको संयोजकत्वमा एक टोली मेरुङ पुगेको थियो। रेडपाण्डा दुई हजार सात सय ८१ मिटरको उचाइमा भेटिएको वडाध्यक्ष राईले जानकारी दिएका छन्।
उनका अनुसार विभिन्न समूहमा विभाजित भएर खोजी गर्ने क्रममा रुखमा सुतिरहेको अवस्थामा रेडपाण्डा फेला परेको जनाएका छन्। भेटिएको रेडपाण्डा करिब दुई वर्ष छ महिनाको भाले रहेको र उक्त वनमा करिब पाँच वटा रेडपाण्डा हुनसक्ने अनुमान गरिएको जनाएका छन्।
आकार र तौलको आधारमा रेडपाण्डालाई पाँच प्रकारमा विभाजन गरिने बताउँदै वनमा पाँचै प्रकारका रेडपाण्डा पाउन सक्ने सम्भावना रहेको रेडपाण्डा हेरालु पुष्पलाल गिरीले बताए। नगरपालिकाको कोप्चेसहित अन्य वनमा पनि रेडपाण्डा भेटिने गरेको स्थानीयले बताउँदै आएका छन्।
रेडपाण्डा खोजीका लागि टोली संयोजक राईसहित महोत्सव संयोजक, दिक्तेल रुपाकोट मझुवागढ–१० का वडाध्यक्ष मुगाधन राई, १२ नं का वडाध्यक्ष दानबहादुर राई लगायत टोली वन क्षेत्रमा पुगेर अनुसन्धान थालेको वन उपभोक्ता समूहका अध्यक्षले उल्लेख गरेका छन्।
रेडपाण्डाले विशेष गरी मालिङ्गो बाँसको टुसा खान मन पराउने हुनाले मालिङ्गो भएको क्षेत्रमा बढी भेटिने स्थानीयले बताएका छन्। जिल्लामा सामुदायिक वन समूहको सक्रियता तथा वनसम्बन्धी विभिन्न परियोजनाको सहकार्यमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन गरिएको छ।
नगरपालिकाले गर्ने रेडपाण्डा तथा थार महोत्सवले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ थप प्रभावकारी बन्ने र दीर्घकालीन योजना सफल बनाउन मद्दत पुग्ने जनाइएको छ।