चैत्र ४ काठमाडौं ।
अमेरिकाद्धारा यमनमाथि आक्रमण गरेको छ। अमेरिकाले सेन्ट्रल कमाण्डले आज आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको हो।
अमेरिकाले लाल सागरमा पानीजहाजहरू माथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ।
अमेरिकाले हिजो र आज गरेको आक्रमणमा ५३ जनाको ज्यान गएको हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अल–अस्बाहीले सामाजिक सञ्जाल एक्समा ‘पाँच बालबालिका र दुई महिलासहित ५३ जनाको ज्यान गएको’ साथै ९८ जना घाइते भएको जनाएको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले एबीसी न्युजसँग अमेरिकी आक्रमणमा ‘धेरै हुथी नेतालाई लक्षित गरिएको’ जनाएका छन्।
अमेरिकाले आक्रमणमा केही प्रमुख हुथी नेताहरू मारिएको दाबी गरेको छ। तर यसबारे हुथी समूहले कुनै पुस्टि गरेको छैन। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले हुथी आक्रमणहरू बन्द नभएसम्म अमेरिकाले कारबाही जारी राख्ने चेतावनी दिएका छन्।
लाल सागरमा पानीजहाजमाथि आक्रमण गरेका कारण हुथीविरुद्ध कारबाही सुरु गर्नुपरेको ट्रम्पको भनाइ छ। ‘हुथीले इरानको आर्थिक सहयोगमा अमेरिकी विमानमा क्षेप्यास्त्र प्रहार गरेका छन्।
गाजामा इजरायल र हमासबीचको युद्धको प्रतिक्रियामा लाल सागरबाट हुने ढुवानीलाई लक्षित गर्न थालेको हुथी समूहले अमेरिकी आक्रमणको जवाफ दिने बताएको छ।
हुथी विद्रोहीहरूको गढ रहेको साना र उत्तरी प्रान्त सादामा शनिबार साँझ श्रृंखलाबद्ध विस्फोटहरू भएको हुथीहरूले जनाएका छन्। उनीहरूको गढ रहेको सादा साउदी अरबको सिमाक्षेत्रमा पर्छ।