फागुन २१ काठमाडौं ।
चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशन बेइजिङमा सुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशन मंगलबार देखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरु भएको हो।
चिनियाँ राजनीतिक जीवनमा महत्त्वपूर्ण घटना मानिने कम्युनिष्ट पार्टीको अधिवेशन चीनको शीर्ष राजनीतिक सल्लाहकार निकाय, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) १४औं राष्ट्रिय समितिको तेस्रो सत्र मंगलबारदेखि र १४औं राष्ट्रिय जनकांग्रेसको तेस्रो सत्र आज देखि सञ्चालनमा आएको हो।
आर्थिक, सांस्कृतिक, शैक्षिक र वातावरणीय स्रोत लगायत ३४ वटा क्षेत्रका २१०० भन्दा बढी सदस्यहरू भेला भई चिनियाँ शैलीको आधुनिकीकरण लक्ष्यको कार्यभारलाई अघि बढाउनेबारेमा राय–सुझाव प्रस्तुत गरिरहेका छन्।
अधिवेशन अन्तर्गत मार्च ३ तारिखबाट सुरू भएको सीपीपीसीसी १० तारिखसम्म चल्नेछ। उनीहरूले कार्यप्रतिवेदन र प्रस्तावहरूको व्यवस्थापन गर्ने, सुन्ने र छलफल गर्ने परम्परा छ।
सीपीपीसीसीका सदस्यहरू बुधबारदेखि सुरू भएको जनकांग्रेसको सत्रमा पनि सहभागी भएर सरकारी कार्य प्रतिवेदनसहित प्रमुख कागजातहरूमाथि छलफलमा जुटेका छन्।
चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको प्रत्येक कार्यावधि ५ वर्षको हुन्छ र हरेक वर्ष एक पटक पूर्ण अधिवेशनको आयोजना गरिन्छ।
दुई अधिवेशनका दौरान बेइजिङस्थित चीनका लागि विभिन्न कूटनीतिज्ञहरू उद्घाटन र समापन बैठकमा आमन्त्रित हुने गर्दछन्। चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली पहिलो पटक सरकारी कार्य प्रतिवेदन बैठकमा सहभागी भएका छन्।
आज देखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा राष्ट्रिय जनकांग्रेस १४औं राष्ट्रिय समितिको तेस्रो अधिवेशन सुरु भएको छ। अधिवेशनमा राष्ट्रपति सी चिनफिङ लगायत शीर्ष नेताहरू भेला भएको र उद्घाटन समारोहमा प्रधानमन्त्री ली छ्याङले सरकारी कार्य प्रतिवेदन प्रस्तुत गरेका थिए।