फागुन ११ काठमाडौं ।
युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावासको स्थापना भएको छ। परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु भएको जनाएको हो।
नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानी सहित आवश्यक कागजात प्रमाणीकरण सम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो।
दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ।
शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित करिब दुई सय कागजात प्रमाणीकरणको सेवा दिन थालेको दूतावासले जनाएको छ।
शिविर अवधिभर दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गर्नेछ।
यस्तै यसअघि सञ्चालन भएको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि आवेदन दिएका सेवाग्राहीको तयार भएर आएको राहदानी वितरण गर्नेछ भने विविध कारणले राहदानी तयार हुन नसकेका सेवाग्राहीको पुनः जैविक तथ्याङ्क सङ्कलन गरिने दूतावासले जनाएको छ।
पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल केही दिनभित्रै पोर्चुगल आउनुहुने र त्यसपश्चात दूतावासले सम्पूर्ण सेवा प्रदान गर्ने कार्यवाहक राजदूत नेपालले जानकारी दिएका छन्।
दूतावासले कन्सुलर सेवा विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्तालगायत अन्य कागजात प्रमाणीकरणकासम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ।
घुम्ती सेवामा फ्रान्सस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, नेपाली दूतावास लिस्बनका तृतीय सचिव अनिल राना लगायत कर्मचारी खटिएका छन्।
दूतावासले फेबु्रअरी २६ अर्थात् फागुन १४ गतेसम्म घुम्ती सेवा प्रदान गर्ने र त्यसपश्चात आफ्नो नियमित सेवा प्रवाह गर्ने जनाएको छ।