माघ २६ काठमाडौं ।
महोत्तरीको उत्तरी भेग वनक्षेत्र नजिकको बस्तीमा जंगली हात्तीको त्रास बढेको छ। पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली हात्तीको त्रास बढेको हो।
तीन वटाको समूहमा बस्ती पस्ने हात्तीले मध्यरातपछि उपद्रो मच्चाउने गरेको बर्दिबास ५ गणन्ताका स्थानियले बताएका छन्। जिल्लाका गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूहमा पसेका जंगली हात्तीले क्षति गरेको हो।
यसपालि पछिल्लो एक सातादेखि दिनभरि वनक्षेत्रमा लुकेर राति बस्ती पस्ने हात्तीले बर्दिबास नगरक्षेत्रभन्दा गौशालामा बढी क्षति गरेको बताएका छन्। गौशाला–८ ढल्केबरमा पाँच, सातवटा गोठघर भत्काइदिएको छ।
गज, ढोइ र छावासहितको हात्तीको समूहले सागरनाथ वनविकास परियोजनाको प्लटसँगै जोडिएका गौशाला–८ का पाँचभन्दा बढी बस्तीमा उखु, केरा, कोवी, मकै र गहुँसहितका बाली उखेल्ने, माड्ने गरेर क्षति पु¥याएको बताएको छ।
जंगली हात्तीको समूह बिहानपख बर्दिबास–५ को सोनापेटी, ढुङ्ग्रे र खयरमाराका दक्षिणीटोल पसेको स्थानीयले बताएका छन्।
अधिकांश मध्यरात पछिको समयमा हात्ती बस्ती पस्ने गरेको र बिहान चार बजेअघि नै वनक्षेत्रको सुरक्षित बासस्थानतिर जाने गरेको गौशाला–८ ढल्केबरको स्थानियले बताएका छन्।
पछिल्लो जारी साताभित्रै (गत आइतबारयता ) हात्तीको समूहले आफ्नो वडाका विभिन्न बस्तीमा गरी १० बिघा बढीको बालीनाली सखाप पारेको गौशाला–८ का वडाअध्यक्ष भोजबहादुर दर्लामी बताउँछन्।
जंगली हात्तीले बर्सेनीजसो बर्दिबास र गौशालाका बस्तीमा क्षति पुर्योउदै आएपनि यसको समाधान भने हुन सकेको छैन।यसपालि सर्लाहीतिरबाट महोत्तरी पसेको हात्तीले एक साताअघि छिमेकका सर्लाहीका बस्तीमा बालीनाली निकै क्षति गरेको थियो।
कहिले सिन्धुलीतिरबाट चुरे कटेर महोत्तरी पस्ने हात्तीले धनुषाको मिथिला नगरपालिकाको ढल्केबर शिरानका बस्तीसम्म क्षति गरेको छ।
यी जङ्गली हात्ती आफ्नो पुरानो बाटोमै हिड्ने गरेका वन्यजन्तुविज्ञको भनाइ छ। तर पछिपछि हात्तीका पुराना बाटा फाँडिएर घर बनेपछि त्यस्तै ठाउँ नजिक हात्तीले क्षति गर्ने गरेको बताएका छन्।
हात्तीको बाटो एकअर्को पुस्तासँग जोडिदै आउने गरेको विज्ञ बताउँछन्। अहिले बाबु आमासँग आएको छावा पछि यही बाटो अनुसरण गर्ने र त्यसपछि उनीसँग हिड्नेसँग बाटोको सम्बन्ध जोडिदै जाने परम्परा बसेको हेमन्तप्रसाद साहले बताएका छन्।